अबको तीन दिन तापक्रम ह्वात्तै बढ्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । नेपालमा स्थानीय वायुको प्रभाव सँगै देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यस्तै गण्डकी, कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी, कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।

आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

ती भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।