सेती नदीले बगाएर बेपत्ता पोखरा-१, सिम्पानी निवासी रक्से तामाङ ६ दिन बित्दासमेत अज्ञात छन् । सार्की लामा तामाङ अर्थात् मानबहादुर तामाङ भनिने उनी अन्य ४ जना साथी (मंगा, कुमार, शम्शेर तामाङ लामा र रोहित कुँवर) सँग माछा मार्न भनी गत आइतबार राति करिब १० बजे महतगौंडा नजिकैको सेती नदीमा पसे । रातको समयमा ५ जना नै आ-आफ्नो तवरले माछा मार्न लागे । नदीमा पसेको करिब १५ मिनेटमै रक्से र मंगालाई नदीले बगायो । करिब ५० मिटर तलबाट मंगाले चिच्याएपछि अन्य ३ जनाले चाल पाए । उनीहरु मंगालाई बचाउन दौडिए । तर, सकेनन् । मंगालाई नदीले बगाएर निकै अप्ठेरो ठाउँमा पुर्यायो । खोंचमा रहेको एउटा ठूलो ढुंगामा उनी अड्किए । तर उनलाई तत्काल निकाल्न सम्भव भएन ।
त्यो खोंचमा उनलाई अलिअलिमात्रै देख्न सकिन्थ्यो । उनीहरूले त्यहाँ रक्सेलाई पनि देखेनन् । रक्सेलाई बोलाए तर कतैबाट पनि आवाज नआएपछि उनीहरू झनै अत्तालिए । त्यतिञ्जेलसम्म रातको साढे १० बजेको थियो ।
यसबारे कास्की प्रहरीलाई जानकारी गराए । करिब २० मिनेटमै प्रहरी र सशस्त्र प्रहरीको गोताखोर घटनास्थल आयो । गोताखोरको निकै धेरै प्रयासमा राति १ बजे मात्रै मंगालाई निकाल्न सम्भव भयो । तर उनी जीवित थिएनन् । रक्सेको पनि केहीबेर खोजी भयो तर पत्ता लागेन । हार मान्दै उनीहरू फर्किए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।