गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहण गरेका छन् ।
आज दिउँसो प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ ग्रहण गरेलगत्तै मुख्यमन्त्रीको कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । अधिकारी दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । प्रदेश प्रमुख भट्टले संविधानको धारा १६८ (२) बमोजिम उनलाई आज मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । अधिकारी यसअघि २०७९ पुस २५ मा मुख्यमन्त्री बनेका थिए । उनले २०८० वैशाख १४ गतेसम्म मुख्यमन्त्री सम्हालेका थिए ।
यसअघि नेता अधिकारीले एमालेका २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का आठ (सभामुखसहित) र एक स्वतन्त्र गरी ३१ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यन्त्रीमा दाबी पेस गरेका थिए । कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ बहुमत सदस्यको समर्थन चाहिन्छ । उनले अबको एक महिनाभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनांगेलाई मन्त्रीमा नियुक्त गरेका छन् ।यता, नेपाली कांग्रेसले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै प्रदेश प्रमुख भट्टलाई पत्र बुझाएको छ ।राजीनामा नदिइकन सरकार गठनका लागि सभामुखको समर्थन रहेको देखाउनु गलत भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले मुख्यमन्त्री नियुक्ति प्रकृया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत जाने चेतावनी दिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।