पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको छ : प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटको पहिचान देशविदेशमा स्थापित हुँदै गएको बताएका छन् । पञ्चकोटमा आयोजित ‘अनन्तश्री ब्रह्माण्डीय महायज्ञ’मा सम्बोधन गर्दै उनले बागलुङको समग्र विकासमा पञ्चकोटले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

“सर्वसिद्धिधाम पञ्चकोट र कुँडुलेफेँदीको शालिग्राम सङ्ग्रहालय विशिष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा परिचित छन्”, प्रधानमन्त्रीले भने, “यस्ता महायज्ञ सञ्चालनले देवस्थल तथा तीर्थस्थलका महत्वका विषयमा मानिसमा अध्यात्मिक चेतना अभिवृद्धि भई धर्म, संस्कार र संस्कृतिको संरक्षणमा टेवा पुग्छ ।”

धार्मिक तथा सांस्कृतिकस्थलमा हुने आन्तरिक तथा बाह्य पर्यटकको आगमनले मुलुकको समग्र विकासमा योगदान पुग्ने उनको भनाइ छ ।
प्रधानमन्त्रीले भौतिक विकासमा दौडिरहेको वर्तमान विश्वमा अध्यात्मिक चिन्तनको विकास गर्न नसके समाजमा स्थायी शान्ति प्राप्त नहुने धारणा राखे । उनले संस्कारसहितको व्यावहारिक शिक्षा अहिलेको आवश्यकता रहेकामा जोड दिए ।

ऋषि, महर्षिको पवित्र भूमि नेपालका बासिन्दा पैसाकै लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डले बताए । धार्मिक ज्ञानका माध्यमबाट सामाजिक रुपान्तरणमा सर्वसिद्धिधाम पञ्चकोटका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्यले पु¥याएको योगदानको उनले प्रशंसा गरे ।

“शिक्षा, स्वास्थ्य, पर्यावरणलगायत क्षेत्रको प्रवर्द्धनमा स्वामीज्यूले पुर्‍याउनुभएको योगदानको म उच्च प्रशंसा र कदर गर्दछु”, प्रधानमन्त्रीले भने, “त्रिवेणी क्षेत्रको गजेन्द्रमोक्षधामदेखि मुक्तिनाथ र दामोदर कुण्डसम्मको विकासमा स्वामीज्यूको लिनुभएको पहल विशिष्ट छ । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम शिलाको संरक्षणमा उहाँले खेल्नुभएको भूमिका उल्लेखनीय छ ।”

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।