पोखरा महानगरपालिका वडा नं.१५ मा ‘किसान बजार’ सञ्चालनमा आएको छ । स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूको बजारीकरण गर्ने उद्देश्यले उक्त बजार सञ्चालनमा ल्याइएको वडा अध्यक्ष तोरण बहादुर बानियाले बताउनुभयो । वडा कार्यालय र कृषि सञ्जाल पोखराको साझेदारीमा सञ्चालित किसान बजारको नगरप्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।
नगरप्रमुख आचार्यले वडा स्तरमा सञ्चालनमा आउने यस्ता प्रकारका बजारहरूले कृषकहरूलाई उत्पादनमा र उपभोक्ताहरूलाई स्वच्छ र ताजा तरकारीहरूको उपभोगमा प्रेरणा मिल्ने बताउनुभयो । ‘जमिनको तीव्र खण्डीकरणले कृषि उत्पादनको क्षेत्र घटिरहेका बेला कृषकहरूलाई उत्पादकत्व वृद्धिसँग जोड्न उत्तिकै कठिन भइरहेको यथार्थ हो, तर उनीहरूको प्रोत्साहनका लागि महानगरपालिकाले विभिन्न किसिमको अनुदान लगायतका साझेदारी कार्यक्रमहरू सहित कृषि उपजको बजारीकरणमा समेत सहयोग गरिरहेको छ, उहाँले भन्नुभयो, यसले कृषकहरूलाई प्रेरणा मिल्नुका साथै उपभोक्ताहरूलाई ताजा र अर्ग्यानिक तरकारी उपभोगमा सहयोग पुग्दछ ।’ महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा पकेट कार्यक्रमहरू सञ्चालन गरी आत्मनिर्भरता उन्मुख रहेको प्रमुख आचार्यले बताउनुभयो ।
स्थानीय कृषकहरूको हितलाई मध्यनजर गर्दै कृषि उपजहरूको सहज बजारीकरण गर्नका लागि कृषि बजार सञ्चालनमा ल्याइएको वडा अध्यक्ष तोरण बहादुर बानियाँले बताउनुभयो । बजार सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन सिधै उपभोक्ताले खरिद गर्न पाउनेछन् ।
पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले यस्ता प्रकारका बजारहरू महानगरका अधिकांश वडाहरूमा सञ्चालन गरिएको बताउनुभयो । कृषि एम्बुलेन्स मार्फत ढुवानी गरिएका ताजा तरकारीहरूको बजारीकरणमा यस प्रकारका बजारहरू निकै प्रभावकारी देखिएको उहाँले बताउनुभयो । पोखरामा १५ मा कृषि बजार सञ्चालनमा आएपछि स्थानीय उपभोक्ताहरूले पनि खुसी व्यक्त गरेका छन् ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।