संघीय संसद् र प्रदेशसभा तथा सचिवालयबीच अन्तरक्रिया कार्यक्रम सौराहमा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सौराहा, ८ फागुन
संघीय संसद् सचिवालयको आयोजना र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को सहकार्यमा चितवनको सौराहमा संघीय संसद् र प्रदेशसभा तथा सचिवालयबीच अन्तर व्यवस्थापिका अनुभव आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ । दुई दिन सम्म चल्ने कार्यक्रमको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नुभयो । 
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसद् अधिवेशनको व्यवस्थित क्यालेण्डर हुन आवश्यक रहेको बताउनुभयो । निश्चित समयसीमा तोकेर संसद्लाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक रहेको भन्दै उहाँले क्यालेण्डर बनाएर अघि बढ्न सके संसद्लाई थप प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो । प्रदेशसभा र संघीय संसद्बीचको अन्तर सम्बन्धबारे अनुभव आदानप्रदानले व्यवस्थापिकाको कामलाई प्रभावकारी बनाउन सघाउ पुग्ने उल्लेख गर्दै सभामुख घिमिरेले संघीयताको कार्यान्वयनमा यस कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् र प्रदेशसभालाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता औंल्याउँदै संविधानको मर्म अनुसार कानून निर्माण गर्नुपर्ने दायित्व रहेको बताउनुभयो । त्यस्तै, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर र राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले एक अर्काबीचको अनुभव आदानप्रदानले सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो । 
अन्तरक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले व्यवस्थापिका र कार्यपालिकाबीच बेलाबखतमा देखिने अन्तरद्वन्द्वको हल गर्ने उपाय खोज्न यस्ता कार्यक्रमले सहयोग पुग्ने भनाइ राख्नुभयो । सो अवसरमा कोशी प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्ट, मधेश प्रदेशसभाकी उपसभामुख बबिताकुमारी राउत, बागमती प्रदेशसभाकी उपसभामुख अप्सरा चापागाईंलगायतले बोल्नुभएको थियो । 
संयुक्त राष्ट्रसंघीय कार्यक्रम (युएनडीपी)की पोर्टफोलियो म्यानेजर कल्पना सरकारले संघीयता कार्यान्वयनका लागि अनुभव आदानप्रदानले सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले व्यवस्थापिकालाई प्रभावकारी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा संघीय संसद् सचिवालयकी सहसचिव बबिता मिश्रले पनि बोल्नुभएको थियो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई zeenewsnepal80@gmail.com मा पठाउनु होला । धन्यवाद ।